दफा १३
सञ्चालक समितिको गठन

(१) प्राधिकरणको सम्पूर्ण काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि देहायका अध्यक्ष तथा सदस्यहरू भएको सञ्चालक समितिको गठन हुनेछः–
(क) संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री वा राज्यमन्त्री वा नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) पर्यटन उद्योग व्यवसायमा विशेष दखल तथा अनुभव भएका निजी क्षेत्र वा संघ, संस्थाका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनित एक जना – सदस्य
(ङ) नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत एक जना – सदस्य
(च) निजी क्षेत्रका समेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत २ जना –सदस्य
(छ) महानिर्देशक – सदस्य–सचिव
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको अध्यक्ष तथा सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
(३) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा सल्लाहकारलाई अवधि तोकी समितिको पर्यवेक्षक सदस्य मनोनयन गर्न सक्नेछ ।
(४) उपदफा (१) को खण्ड (क), (घ), (ङ) र (च) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
तर नेपाल सरकारले चाहेमा पदावधि समाप्त भएका अध्यक्ष तथा सदस्यहरूलाई पुन मनोनयन गर्न सक्नेछ ।
(५) उपदफा (१) बमोजिम गठित सञ्चालक समितिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्राधिकरणलाई भएका सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।